९ आश्विन २०८३, शुक्रबार

भोटेकोशी बाढी : १ हजार ४ सय ५३ शव फेला, ४ हजार ७ सय १८ जना अझै बेपत्ता

26

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो २ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ४ सय ५१ शव विभिन्न जिल्लाबाट बरामद भएका छन् भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।

जिल्लागत विवरणअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका क्रममा मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ३५ गरी कुल ३ हजार ३ सय ६४ वटा डीएनए नमुना संकलन गरिएको छ।

यसैगरी, पहिचान हुन नसकेका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। शव पहिचान तथा आफन्तलाई जानकारी गराउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य जारी छ। उद्धार गरिएका तथा प्रभावित व्यक्तिहरूमध्ये विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार २ सय ८० जना राखिएका छन्।

प्रहरी तथा सम्बन्धित निकायले बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावितको उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।

Author

Leave A Reply

Your email address will not be published.