भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत: ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा
काठमाडौँ ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सिक्किमबाट आएको एक स्वयंसेवक टोलीले आज नुवाकोटमा राहत सामग्री वितरण गर्दैछ। सिक्किमका मुख्यमन्त्री पीएस गोलेमार्फत आएको ३५ सदस्यीय ‘सिक्किम नेपाल राहत स्वयंसेवक टोली’ ले प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन लागेको हो।
सोनाम नोर्गे लाचुम्पाको नेतृत्वमा रहेको यस टोलीले नुवाकोट पुगेर औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस र स्लिपिङ ब्याग लगायतका सामग्री वितरण गर्ने कार्यक्रम छ। विपद्का कारण संकटमा परेका परिवारलाई तत्काल सहयोग पुर्याउन यो अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ।

समन्वय र स्वागत
यस राहत अभियानमा नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्री माननीय महावीर पुन, नेपाली कांग्रेसका संघीय सांसद सन्दिप राणा तथा युवा व्यवसायी टीका भण्डारीले समन्वय गर्नुभएको छ।
यस्तै, राहत टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरमा आवश्यक समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालले गर्नुभएको थियो। टोलीको स्वागत तथा समन्वयका लागि बुढानीलकण्ठस्थित होटल सव्रीनामा एक कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

मुख्यमन्त्रीको अभिभावकीय भूमिका
टोलीका नेतृत्वकर्ता सोनाम नोर्गे लाचुम्पाले सिक्किमका वर्तमान मुख्यमन्त्री पिएस गोले तामाङले भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूको अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले सिक्किमका पूर्व मुख्यमन्त्रीहरू मनिक कुमार सुब्बा र नर बहादुर भण्डारीले जस्तै तामाङले पनि नेपालीभाषीहरूप्रति विशेष सद्भाव राखेको उल्लेख गर्दै निकट भविष्यमा मुख्यमन्त्री स्वयम् थप राहतसहित नेपाल आउने जानकारी गराउनुभयो।
भोटेकोसी बाढीले नुवाकोटसहितका जिल्लामा ठूलो क्षति पुर्याएको समयमा सिक्किमबाट आएको यो सहयोगले प्रभावित परिवारलाई अस्थायी आवास, स्वास्थ्य र खाद्यान्नमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
