हेलिकप्टर उद्धारमा सरकारी समन्वय अनिवार्य, जथाभावी उडानमा रोक
रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरको उडानलाई सरकारी समन्वयमा मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ। जथाभावी उडान गर्दा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लालाई यस्तो पत्राचार गरेको हो।
अब उद्धारका लागि हेलिकप्टर आवश्यक परेमा जिल्ला सुरक्षा समितिले निर्णय गरी नेपाली सेना वा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग समन्वय गरेर मात्र उडान गर्नुपर्नेछ। प्राधिकरणले निजी हेलिकप्टर व्यवस्थापनका लागि सचित अर्याल (हेली एभरेस्ट), मिङ्मा शेर्पा (अल्टिच्यूड एयर) र बालकृष्ण पण्डित (एयर डाइनाष्टी) लाई सम्पर्क व्यक्ति तोकेको छ।