२१ जेष्ठ २०८३, बिहीबार

कृषि क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको करिब ४० अर्ब लगानी: ४.७५ प्रतिशत ब्याजदरमै कर्जा पाइने

49

काठमाडौँ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिँदै कृषि कर्जामा आफ्नो लगानी विस्तार गरेको छ। बैंकले २०८२ चैत मसान्तसम्म कुल ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ।

बैंकले कृषक र कृषि उद्यमीलाई आकर्षित गर्न आधार दरमा न्यूनतम प्रिमियम थप गरी सस्तो ब्याजदर र सहुलियतपूर्ण प्रशोधन शुल्कमा कर्जा उपलब्ध गराउँदै आएको छ। हाल बैंकले ४.७५ प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ र साना किसानका लागि १० लाख रुपैयाँसम्मको ‘साना किसान सरल कर्जा’ प्रदान गरिरहेको छ। साना किसान कर्जामा कुनै पनि प्रशोधन शुल्क नलाग्ने बैंकले जनाएको छ। यसका साथै बैंकले किसानहरूका लागि ‘किसान क्रेडिट कार्ड’को सुविधा समेत उपलब्ध गराएको छ।

कृषि कर्जा प्रवाहलाई व्यवस्थित बनाउन बैंकले छुट्टै नीति र कार्यविधि लागू गर्नुका साथै केन्द्रिय कार्यालयमा ‘कृषि तथा सामाजिक बैंकिङ विभाग’ स्थापना गरेको छ। यस क्षेत्रमा दक्षता अभिवृद्धि गर्न बैंकले दक्ष कृषि विज्ञहरूलाई कर्मचारीका रूपमा भर्ना गरी विभिन्न शाखा र प्रादेशिक कार्यालयहरूमा खटाएको छ।

७७ वटै जिल्लाका ३१४ वटा शाखा कार्यालयमार्फत कृषि कर्जा उपलब्ध गराउँदै बैंकले ग्रामीण कृषकहरूको वित्तीय पहुँच सुनिश्चित गरेको छ। बैंकको यो लगानीले कृषिको आधुनिकीकरण, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रको विकासमा सकारात्मक प्रभाव पारेको छ।

Author

Leave A Reply

Your email address will not be published.