१४ कार्तिक २०८३, शुक्रबार

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित : संस्थाको नाममा गतिविधि गरे कारबाही हुने चेतावनी

11

गृह मन्त्रालयले ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल’ (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले दिएका निर्देशनहरू पालना नगरेको तथा स्वीकृत विधानविपरीत गतिविधि सञ्चालन गरेको भन्दै संस्थालाई निलम्बन गरिएको हो।

मन्त्रालयद्वारा जारी सार्वजनिक सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सरकारको स्वीकृति लिई सञ्चालनमा रहेको एन-प्याब्सनले उक्त ऐनको दफा ५ बमोजिम मन्त्रालयले पटक–पटक दिएका निर्देशनहरू पालना गरेको थिएन। साथै, संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत कार्य गरेको पाइएको मन्त्रालयले जनाएको छ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बद्ध पक्षहरूलाई बोलाएर छलफल गराउँदै २०८२ मंसिर १२ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो। तर, सो आग्रहसमेत बेवास्ता गरिएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

सूचना जारी भएसँगै अब एन-प्याब्सनको नाममा कुनै पनि समूह वा गुटबाट गरिने सम्पूर्ण गतिविधिहरू गैरकानूनी हुने गृह मन्त्रालयले प्रस्ट पारेको छ। यस्ता गतिविधि गरेमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.