१४ कार्तिक २०८३, शुक्रबार

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट : शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल

24

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (चार्जे डि’अफेयर्स) मेगन बोल्डिनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। शिक्षा मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको शैक्षिक सहकार्य विस्तार र खेल कूटनीतिका विविध पक्षबारे छलफल भएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्र र मानव संसाधन विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा विद्यार्थी तथा विश्वविद्यालयका प्राध्यापकहरूको ‘एक्सचेन्ज प्रोग्राम’ र फुलब्राइटजस्ता छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक तथा प्याराओलम्पिक खेलहरूलाई लक्षित गर्दै नेपाली खेलाडी र प्रशिक्षकहरूलाई अमेरिकी विशेषज्ञता, तालिम तथा खेल व्यवस्थापनको अवसर उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले हालै भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् तथा विकासका हरेक मोडमा अमेरिका नेपालको साथमा रहने प्रतिबद्धता जनाउनुभयो। दुवै पक्षले ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई शैक्षिक तथा खेलकुद क्षेत्रमार्फत थप सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.