संवाददाता नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुग्यो प्रहरी
समाचार लेखेकै भरमा न्यूजरुममै प्रहरीको धरपकड : प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार
समाचार सम्प्रेषण गरेकै आधारमा राज्य संयन्त्रले सञ्चारगृहको कार्यकक्षमै पुगेर पत्रकारहरूमाथि धरपकड र भयको वातावरण सिर्जना गर्न थालेपछि संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएका सादा पोशाकका प्रहरी कुनै पक्राउ पुर्जी बिना नै सिधै ‘नयाँ पत्रिका’ दैनिकको कार्यालयमा प्रवेश गरी संवाददाता नवराज मैनालीलाई जबर्जस्ती साइबर ब्यूरो लैजाने भन्दै कार्यकक्षमै दबाब दिएको थियो ।
यसअघि आजै ‘नेपाल प्रेस’मा कार्यरत पत्रकार विश्वमणी सुवेदीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै लगत्तै अर्को सञ्चारगृहमा प्रहरी पस्नुले राज्य संयन्त्र योजनाबद्ध रूपमा प्रेस जगतलाई तर्साउन र नियन्त्रण गर्न उद्यत देखिएको पुष्टि गर्छ।
प्रकाशित समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिलजस्ता वैधानिक निकायमार्फत खण्डन वा उजुरी गर्ने स्पष्ट कानुनी बाटो छँदाछँदै, प्रहरीलाई सिधै न्यूजरुममै पठाएर अपराधी झैँ व्यवहार गर्नु लोकतान्त्रिक मूल्यमान्यता र पूर्ण प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन हो। समाचार लेखेकै भरमा पत्रकारमाथि हुने यस्तो ज्यादती र प्रशासनिक दादागिरी तत्काल बन्द गरी निर्वाध पत्रकारिता गर्ने वातावरण बनाउनु पर्ने आजको आवस्यकता रहेको छ ।
यसै बिसयमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नयाँ पत्रिकाको कार्यालय आइपुगेका छन्। प्रहरी हौं भन्दै एक समूह नयाँ पत्रिकामा प्रवेश गरेपछि महासंघका महासचिव छलफलका लागि आएका हुन्। अहिले दाहाल उक्त टोलीसँग छलफलमा छन्।