२९ भाद्र २०८३, सोमबार

बाढी प्रभावितका साथमा सरकार छ, तपाईंहरू एक्लो हुनुहुन्न : प्रधानमन्त्री बालेन्द्र शाह

19

काठमाडौँ प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका नागरिक, विशेष गरी ज्येष्ठ नागरिकहरूलाई राज्य र सरकार सधैँ साथमा रहेको भन्दै उच्च मनोबल राख्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उहाँले बाढीका कारण घरबार र आफन्त गुमाएका आमाबुबाहरूलाई “तपाईंहरू एक्लो हुनुहुन्न” भन्दै सान्त्वना दिनुभएको हो।

प्रधानमन्त्री शाहले नुवाकोटको बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धारले खोजी र उद्धार कार्यमा थप आशा जगाएको उल्लेख गर्नुभयो। बाढीले घर, खेतबारी र आफन्त गुमाएका वृद्धवृद्धाहरूको पीडाप्रति संवेदनशील हुँदै उहाँले अस्थायी शिविरहरूमा राहत, स्वास्थ्य सेवा, ह्वीलचियर तथा मनोसामाजिक परामर्शको व्यवस्था गरिएको जानकारी दिनुभयो।

नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक आश्रम क्षतिग्रस्त भएपछि त्यहाँका आमाबुबाहरूलाई काठमाडौँ र इनारपाटीमा सुरक्षित स्थानान्तरण गरिएको र चाँडै स्थायी बसोबासको प्रबन्ध मिलाइने उहाँले बताउनुभयो। उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले पीडितमाथि नकारात्मक टिप्पणी गर्ने र थप पीडा दिनेहरूलाई सरकारले कडा कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.