२९ भाद्र २०८३, सोमबार

नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २४ शव फेला, ड्रोनको सहयोगमा यसरी गरियो खोजी र उद्धार

57

विदुर (नुवाकोट), १६ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी र उद्धारमा खटिएको नेपाल प्रहरीले नुवाकोटको बेत्रावतीमा एउटै घरबाट २४ वटा शव फेला पारेको छ । प्रविधिको प्रयोग गर्दै ड्रोन क्यामेरा मार्फत गरिएको खोजीका क्रममा यो दर्दनाक तथ्य बाहिर आएको हो ।

विदुर नगरपालिका–१०, बेत्रावतीस्थित बच्चुराम अवस्थीको घरमा बाढीले ल्याएको दलदले हिलोका बीचमा प्रहरीले ड्रोनको सहायताले सुरुमा एउटा शव देखेको थियो । ड्रोनको विवरणका आधारमा मङ्गलबार प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको नेतृत्वमा खोजी तथा उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो ।

साहसिक उद्धार र कठिन परिस्थिति
घटनास्थल पुगेको टोलीलाई घरसम्म पुग्न निकै चुनौतीपूर्ण थियो । घरको चारैतिर बाढीले बगाएर ल्याएको गहिरो र दलदले हिलोले घेरेका कारण शवसम्म पुग्न कठिन भएपछि प्रहरीले नजिकैको भग्नावशेषबाट जस्तापाता, काठ र डोरी सङ्कलन गरेको थियो । दलदले हिलोमाथि ती सामग्रीहरू राखेर बाटो बनाउँदै प्रहरी टोली जोखिम मोलेर अवस्थीको घरभित्र छिर्न सफल भएको थियो ।

थप २३ शव फेला
सुरुमा एउटा शव देखिएको सो घरभित्र प्रवेश गरेपछि थप शव हुनसक्ने आशङ्कामा खोजी गर्दा अन्य २३ वटा शव फेला परेका थिए । फेला परेका कुल २४ शवमध्ये ११ जना पुरुष, १२ जना महिला र १ जना बालिका रहेका छन् ।

प्रहरीले सबै शवको मुचुल्का कार्य सम्पन्न गरी व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ । तर, बाक्लो दलदले हिलोका कारण सडक मार्गबाट शव लैजान असम्भव देखिएकाले शव व्यवस्थापनका लागि हेलिकोप्टरको आवश्यकता परेको प्रहरीले जनाएको छ ।

हाल उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँगको समन्वयमा निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेको छ । लेदो र हिलोका कारण उद्धार कार्य निकै कष्टकर भए पनि सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा अहोरात्र खटिएका छन् ।

Author

Leave A Reply

Your email address will not be published.