रसुवा बाढीमा बुधबार दिउँसोसम्म १८ जनाको मृत्यु, ६ जनाको पहिचान खुल्न बाँकी
काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बुधबार दिउँसो ३:४५ बजेसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। रसुवाबाट सुरु भएको बाढीको प्रभाव तल्लो तटीय क्षेत्रका अन्य जिल्लाहरूमा समेत पर्दा मानवीय क्षति बढेको हो।
जिल्लागत विवरण:
प्रहरीका अनुसार फेला परेका शवहरूको जिल्लागत विवरण निम्न अनुसार रहेको छ:
-
रसुवा: १ जना पुरुष।
-
नुवाकोट: ७ जना (३ महिला र ४ पुरुष)।
-
धादिङ: ६ जना (३ महिला, २ पुरुष र १ जना पहिचान नखुलेको)।
-
गोरखा: ४ जना (२ पुरुष र २ जना पहिचान नखुलेको)।
फेला परेका १८ शवमध्ये १२ जनाको पहिचान खुलेको छ भने ६ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
उद्धार र सडक खुलाउने प्रयास जारी
नेपाल प्रहरीले बाढीको उच्च जोखिममा रहेका विभिन्न जिल्लाका परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। स्थानीय प्रशासन, विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
यसैबिच, बाढी र पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएका राजमार्ग र ग्रामीण सडकहरू खुलाउने कार्य समेत भइरहेको छ। प्रहरीले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षाकर्मीको सम्पर्कमा रहन पुनः अनुरोध गरेको छ।