३० भाद्र २०८३, मंगलवार

रसुवा बाढी: डब्ल्युएचओले स्वास्थ्य सामग्री पठाउने, वीर र ट्रमा सेन्टरमा १०० शय्या तयारी अवस्थामा

58

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितहरूका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको छलफलपछि संगठनले एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरणहरू पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राहत सामग्रीका साथै २४ स्क्वायर मिटरका १५ वटा आपत्कालीन टेन्टहरू पनि प्रभावित क्षेत्रमा पठाइने भएको छ।

अस्पतालहरूमा विशेष तयारी
मन्त्रालयले बाढी प्रभावितहरूको उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या (Emergency Beds) छुट्याएको छ। बाढीमा परी घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

विभिन्न निकायसँग समन्वय
आपत्कालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले संघीय अस्पतालहरू, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग समन्वय गरिरहेको छ। साथै, नेपाल रेडक्रस, लायन्स क्लब र नेपाल स्काउटजस्ता सामाजिक संस्थाहरूलाई पनि परिचालन गरी एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.