रसुवा बाढी: नेपाली सेनाद्वारा १२ जनाको सफल उद्धार, सेना र निजी गरी १२ हेलिकप्टर परिचालन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धार कार्य नेपाली सेनाले तीव्र रूपमा अगाडि बढाएको छ। सेनाका अनुसार हालसम्म विभिन्न स्थानबाट १२ जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना रहेका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो।

१२ हेलिकप्टर उद्धारमा सक्रिय
बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी जम्मा १२ वटा हेलिकप्टर परिचालन गरिएको छ। दुर्गम र सडक सम्पर्क विच्छेद भएका स्थानहरूमा हेलिकप्टरमार्फत खोजी र उद्धार कार्य जारी राखिएको छ।
आकस्मिक उपचारको व्यवस्था
उद्धार गरिएका तथा घाइते नागरिकहरूको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम सक्रियताका साथ खटिएको छ। सेनाका अनुसार त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवाको व्यवस्था मिलाइएको छ, जहाँ प्रभावितहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान भइरहेको छ।
अहिले पनि प्रभावित क्षेत्रमा सेनाको टोलीले अन्य बेपत्ता वा फसेकाहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।