बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क, सञ्चारमन्त्रीको निर्देशनपछि सुविधा उपलब्ध
काठमाडौँ, १० भदौ । नेपाल टेलिकमले रसुवागढी क्षेत्रमा आएको बाढीबाट प्रभावित बासिन्दाहरूका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रका बासिन्दालाई सञ्चार सम्पर्कमा सहजता प्रदान गर्न तत्काल निःशुल्क सुविधा उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। सोही निर्देशन बमोजिम टेलिकमले हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने भएको टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
यसैबिच, टेलिकमले बाढी प्रभावित र आसपासका क्षेत्रका सेवाग्राहीलाई सावधानी अपनाउन एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ। बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा मोबाइल टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिग्रस्त टावर र पूर्वाधार मर्मतका लागि टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिसकेको कम्पनीले जनाएको छ।