सञ्चार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ: मन्त्री डा. तिमिल्सिना
काठमाडौँ, ९ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भए पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारलाई सधैँ केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई) जस्ता नयाँ प्रविधिलाई आत्मसात् गर्दा विश्वसनीयता र व्यावसायिक नैतिकतालाई बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले एआईले सामग्री तयार गर्न सहयोग गरे पनि त्यसको सत्यता र सामाजिक प्रभावको अन्तिम जिम्मेवारी मानवमै रहने स्पष्ट पार्नुभयो ।
गलत सूचना र दुष्प्रचार रोक्न प्रतिबन्ध भन्दा पनि बलियो पत्रकारिता र मिडिया साक्षरता आवश्यक रहेको उहाँको भनाइ थियो । साथै, मन्त्री तिमिल्सिनाले नेपालको सामुदायिक रेडियोले विपद् र संकटका बेला खेलेको भूमिकाको प्रशंसा गर्दै सार्वजनिक प्रसारण सेवालाई नयाँ पुस्ताको चाहना अनुसार डिजिटल माध्यममा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।