सुशासन र समृद्धिका लागि प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धि हासिल गर्न मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता गर्नेहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम र विज्ञानमन्त्री महावीर पुनसहित १४ जना मन्त्रीहरू रहनुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थताका कारण र श्रम मन्त्री रामजी यादव संसदीय कार्यव्यस्तताले गर्दा कार्यक्रममा उपस्थित हुन सक्नुभएन।
आजै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सरकारी कामलाई परिणाममुखी बनाउन र मन्त्रीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप जवाफदेही बनाउन यो सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।