तराई-मधेसका घटनाप्रति डा. शेखर कोइरालाको चिन्ता: संयम र आपसी संवादमा जोड
काठमाडौँ । डा. शेखर कोइरालाले हालै तराई-मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्तमान परिस्थितिमा संयम र विवेक अपनाउन आग्रह गर्नुभएको हो।
नेपाल सदियौँ देखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको उल्लेख गर्दै डा. कोइरालाले यो अनुपम एकता नै देशको असली शक्ति भएको बताउनुभएको छ। उहाँले आवेग वा उत्तेजनाले समाजलाई फाइदा नपुर्याउने भन्दै आपसी संवाद नै समस्याको सबैभन्दा ठूलो औषधि भएको उल्लेख गर्नुभएको छ।
जिम्मेवार भूमिका खेल्न अपिल
डा. कोइरालाले शान्ति र सहिष्णुता कायम राख्नका लागि राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाज सबैलाई जिम्मेवार भूमिका खेल्न आह्वान गर्नुभएको छ। यस्तै, सामाजिक सञ्जाल र सञ्चार माध्यममा घृणा फैलाउने कुराहरूलाई निरुत्साहित गर्दै समाजलाई जोड्ने सकारात्मक सन्देशहरू मात्र सेयर गर्न उहाँले सुझाव दिनुभएको छ।
उपचारमा राज्यको ध्यान पुगोस्
घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै डा. कोइरालाले घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घाइतेहरूको उपचारमा राज्यले कुनै कसुर बाँकी नराखोस् भन्ने माग समेत गर्नुभएको छ।
विविधतामा एकता नै राष्ट्रको शान भएको चर्चा गर्दै उहाँले एकजुट भएर सामाजिक सद्भावको कडीलाई अझ बलियो बनाउन सबैमा आग्रह गर्नुभएको छ।