१२ श्रावण २०८३, मंगलवार

तयारी पोशाक उद्योगका समस्या समाधानमा प्रधानमन्त्रीको चासो: संघका पदाधिकारीसँग आज छलफल गर्दै

32

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज विशेष छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजेका लागि उक्त भेटघाट तय गरिएको छ।

भेटमा संघका तर्फबाट अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनुहुनेछ।

छलफल मुख्यतया नेपाली तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीहरूले भोगिरहेका समस्या, उत्पादन वृद्धि तथा निर्यात प्रवर्धनका उपायहरूमा केन्द्रित हुने बताइएको छ। साथै, यस क्षेत्रमार्फत रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका लागि चाल्नुपर्ने कदमका बारेमा समेत विस्तृत कुराकानी हुनेछ।

प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्र, उद्योगी-व्यवसायी र सरोकारवाला निकायहरूसँगको संवादलाई तीव्रता दिनुभएको छ। उहाँले व्यवसायीका समस्या सुन्ने, नीतिगत सुधारका लागि आवश्यक सुझाव लिने र देखिएका गाँठा फुकाउन सम्बन्धित निकायहरूलाई तत्काल निर्देशन दिँदै आउनुभएको छ।

आजको यस छलफलले निर्यातको ठूलो सम्भावना बोकेको तयारी पोशाक उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्न र नीतिगत सहजता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.