दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिलमा नयाँ नेतृत्व: परिणाममुखी काम गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ, २९ असार । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेस श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त हुनुभएका उहाँहरूलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज नियुक्तिपत्र प्रदान गर्नुभयो।
नियुक्तिपत्र हस्तान्तरण गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले दुवै निकायका नवनियुक्त अध्यक्षहरूलाई कानुनको परिधिभित्र रही परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभयो। उहाँले प्रेस काउन्सिललाई गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचारको चुनौती सामना गर्दै मर्यादित पत्रकारिता प्रवद्र्धन गर्न र दूरसञ्चार प्राधिकरणलाई सेवाको गुणस्तर सुधार्दै सुशासन कायम गर्न आग्रह गर्नुभयो।
नवनियुक्त अध्यक्ष उमेस श्रेष्ठले पत्रकार आचारसंहिताको कार्यान्वयन र प्रेस काउन्सिलसम्बन्धी कानुनको परिमार्जन आफ्नो प्राथमिकता रहने बताउनुभयो। त्यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका समस्या समाधान गर्दै नागरिकमुखी र प्रभावकारी सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ।