वन्यजन्तु आक्रमणका पीडित परिवारलाई मन्त्री चौधरीको राहत र सान्त्वना
चितवन: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारलाई घरमै पुगेर भेट्नुभएको छ। गत असार २० गते राति ‘ध्रुवे’ हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको परिवारप्रति मन्त्रीले गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो।
सोही क्रममा मन्त्री चौधरीले घाइतेहरू सूर्य महतो र मंगले बोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो। उहाँले घाइतेहरूको जीविकोपार्जनका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री चौधरीले पीडितलाई समयमै राहत र उपचारको व्यवस्था मिलाउन तथा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।