२१ जेष्ठ २०८३, बिहीबार

सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन्द्र शाह

43

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन र देशमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) का सदस्य राष्ट्र तथा अन्य मुलुकका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा उहाँले यस्तो धारणा राख्नुभएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको निर्वाचनले सुशासन र समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै सरकार परिवर्तन भए पनि नीतिगत स्थिरता रहने र लोकतान्त्रिक मूल्यमान्यतामा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो। “नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन, हामी लगानीकर्ताका लागि सहज वातावरण बनाउँदै विश्व बजारबाट लाभ लिन चाहन्छौँ,” उहाँले भन्नुभयो।

नेपालको परराष्ट्र नीतिको चर्चा गर्दै उहाँले छिमेकी र मित्र राष्ट्रहरूसँग आपसी सम्मान र समानताका आधारमा सन्तुलित सम्बन्ध कायम राख्ने बताउनुभयो। साथै, विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

सो अवसरमा विदेशी राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै सुशासन र आर्थिक विकासको लक्ष्य हासिल गर्न नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए।

Author

Leave A Reply

Your email address will not be published.