विश्वविद्यालयको गरिमा र शैक्षिक क्यालेन्डर जोगाउन शिक्षा मन्त्रीको निर्देशन; उपकुलपति छनोट प्रक्रिया तीव्र
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयमा उपकुलपतिको कामकाजको जिम्मेवारी सम्हालिरेहेका प्राध्यापकहरूसँग विश्वविद्यालयको वर्तमान अवस्था र आगामी योजनाबारे विशेष अन्तरक्रिया गर्नुभएको छ।
विश्वविद्यालयहरूका सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलको उपस्थितिमा भएको उक्त संवाद कार्यक्रममा संक्रमणकालीन अवस्थामा विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्यलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो। सो अवसरमा निमित्त जिम्मेवारीमा रहेका पदाधिकारीहरूले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
दीर्घकालीन निर्णय नगर्न निर्देशन
अन्तरक्रियाका क्रममा मन्त्री पोखरेलले नयाँ उपकुलपति नियुक्त नहुन्जेलसम्म विश्वविद्यालयका नियमित परीक्षा र दैनिक प्रशासनिक कामहरूलाई कुनै बाधा नपुग्ने गरी सञ्चालन गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिनुहोस्, तर संक्रमणकालीन अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि नीतिगत निर्णयहरू नगर्नुहोला।”
उपकुलपति छनोट प्रक्रिया अन्तिम चरणमा
सरकारले विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा अन्त्य गर्दै योग्यता र क्षमताका आधारमा उपकुलपति नियुक्ति गर्ने प्रक्रियालाई तीव्रता दिएको छ। हाल आठ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भई आवेदन संकलनको कार्य सम्पन्न भइसकेको छ।
मन्त्रालयका अनुसार “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम विज्ञ समितिमार्फत छनोट प्रक्रिया अघि बढाइएको हो। यो नयाँ कार्यविधिले नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली (Merit System) र निष्पक्षतालाई सुनिश्चित गर्ने विश्वास लिइएको छ।
बाँकी रहेका अन्य विश्वविद्यालयहरूमा पनि चाँडै नै नयाँ कार्यविधिअनुसार नियुक्ति प्रक्रिया सुरु गरिने मन्त्रालयले जनाएको छ। सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ यो कदम चालेको हो।