वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने: स्वास्थ्यमन्त्रीले वीर अस्पतालबाट शुभारम्भ गर्ने
काठमाडौँ- सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सहभागी हुन निर्देशन दिएको छ।
यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुनेछ।
अभियान अन्तर्गत सरकारी कार्यालयहरूमा निम्न कार्य गरिनेछ:
-
कार्यालयका भित्ताहरूको मर्मत, रङ्गरोगन र सूचना बोर्डहरूको व्यवस्थापन।
-
शौचालयहरूलाई दुर्गन्धरहित, महिलामैत्री र अपाङ्गतामैत्री बनाउँदै नियमित सफाइको अभिलेख राख्ने।
-
कुहिने र नकुहिने फोहोर छुट्याउने तथा कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र सफा राख्ने।
-
अव्यवस्थित तार र पोस्टरहरू हटाउने तथा सेवाग्राहीका लागि व्यवस्थित ‘हेल्प डेस्क’ सञ्चालन गर्ने।
यस अभियानलाई दिगो बनाउन प्रत्येक निकायले ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र कार्यालय प्रमुखले नियमित अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको छ। यो कार्यक्रम देशभरका सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूमा समेत लागू हुनेछ।