धितोपत्र बोर्डको अध्यक्षका लागि बिनोद आचार्यको आवेदन, बलियो दावेदारको रूपमा हेरिँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को रिक्त अध्यक्ष पदका लागि पूर्व मर्चेन्ट बैंकर बिनोद आचार्यले आफ्नो आवेदन दर्ता गराएका छन्। मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष समेत रहेका आचार्यलाई यतिबेला अध्यक्ष पदको बलियो दावेदारका रूपमा हेरिएको छ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका आचार्यले साविकको किष्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। उनीसँग पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा करिब दुई दशक लामो कार्यअनुभव छ। आचार्यले साविकको सिभिल क्यापिटल मार्केट र सेञ्चुरी क्यापिटल मार्केटमा प्रमुख तथा प्रमुख संचालन अधिकृत (COO) को रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।
पूँजी बजारका दर्जनौँ पब्लिक कम्पनीहरूमा संस्थागत सल्लाहकारको रूपमा काम गरिसकेका आचार्यलाई बजारले एक अनुभवी र सक्षम नेतृत्वको रूपमा लिएको छ। धितोपत्र बोर्डको नेतृत्वका लागि उनको आवेदनलाई शेयर बजारका विज्ञहरूले विशेष चासोका साथ विश्लेषण गरिरहेका छन्।
पूँजी बजारको गहिरो बुझाइ र लामो अनुभवका कारण आचार्य अध्यक्ष पदको प्रमुख दावेदारका रूपमा उभिएका हुन्। स्रोतका अनुसार, उनको अनुभव र कार्यक्षमतालाई आधार मान्दै अर्थविदहरुले समेत उनको आवेदनलाई सकारात्मक रूपमा लिएका छन्, जसले उनको दाबेदारीलाई थप मजबुत बनाएको बुझिएको छ।