बागमती किनारबाट स्थानान्तरण भएका नागरिकका लागि स्वास्थ्य शिविर: ६८ जनाले लिए सेवा
काठमाडौँ ।
बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भई व्यवस्थापनको प्रक्रियामा रहेका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श लगायतका सेवाहरू प्रदान गरिएको छ।
शुक्रराज ट्रपिकल (टेकु) अस्पतालको नेतृत्वमा सञ्चालित शिविरमा कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह र पाटन मानसिक अस्पतालका विशेषज्ञ चिकित्सकहरू खटिएका छन्। हालसम्म ६८ जनाले स्वास्थ्य सेवा लिइसकेको र जटिल समस्या देखिएका बिरामीलाई सरकारी अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था मिलाइएको छ।
विशेषगरी घरबास गुमाउँदा उत्पन्न हुन सक्ने मानसिक तनाव र संक्रमणलाई मध्यनजर गर्दै पाटन मानसिक अस्पतालको टोलीले प्रभावकारी मनोपरामर्श दिइरहेको छ।
यसैगरी, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको छ, जहाँ आँखा र दाँतको उपचारमा सर्वसाधारणको आकर्षण देखिएको छ। स्वास्थ्य सेवा विभाग र काठमाडौँ महानगरपालिकासँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको सरकारले जनाएको छ।