१० बैशाख २०८३, बिहीबार

गृहमन्त्री सुदन गुरुङद्वारा पदबाट राजीनामा, मिडिया र स्वार्थ समूहलाई दिए कडा चुनौती

86

नेपाली राजनीतिको आकाशमा आज एउटा यस्तो विष्फोटक मोड आएको छ, जसले सत्ताको कुर्सी र शक्तिको उन्मादमा रहेकाहरूलाई स्तब्ध बनाइदिएको छ। विगत केही समयदेखि शेयर लगानी र ‘स्वार्थको द्वन्द्व’लाई लिएर उठिरहेका तमाम प्रश्न र नागरिक स्तरको चासोलाई सम्बोधन गर्दै गृहमन्त्री सुदन गुरुङले आजैका मितिबाट लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएका छन्। तर, यो राजीनामा केवल एउटा पदको त्याग मात्र होइन, बरु नेपाली राजनीतिमा हराउँदै गएको ‘नैतिकता’ र ‘जवाफदेहिता’को एउटा कडा ऐना पनि हो।

गृहमन्त्री गुरुङले आफ्नो राजीनामालाई केवल एउटा प्रशासनिक प्रक्रियामा मात्र सीमित राखेका छैनन्। उनले देशमा सुशासन र पारदर्शिताको माग गर्दै सडकमा उत्रिएको नयाँ पुस्ता (Gen Z) को भावनालाई कदर गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने एउटा ऐतिहासिक नजिर स्थापित गरेका छन्। ४६ जना आत्मीय भाइ-बहिनीहरूको रगत र बलिदानीको जगमा उभिएर बनेको यो सरकारको गरिमा बचाउनु आफ्नो परम कर्तव्य रहेको बताउँदै गुरुङले भावुक तर आक्रामक शैलीमा भनेका छन्, “मेरो लागि पदभन्दा नैतिकता ठूलो हो र जनविश्वासभन्दा ठूलो शक्ति संसारमा अरू कुनै हुँदैन।”

आफूमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै पनि किसिमको ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) ले अनुसन्धानलाई प्रभावित नपारोस् भन्ने हेतुले उनले राजीनामा दिएको स्पष्ट पारेका छन्। पदको लोभमा टाँसिएर स्पष्टीकरण दिइरहने प्रवृत्तिका विरुद्ध उनले चालेको यो कदमले वर्तमान सत्ता समीकरणमा मात्र होइन, आम जनमानसमा पनि ठूलो हलचल पैदा गरिदिएको छ।

तर, राजीनामासँगै उनले सञ्चारमाध्यम र समाजका अन्य क्षेत्रमाथि पनि एउटा गम्भीर र आक्रामक प्रश्न तेर्स्याएका छन्। आफूलाई ‘नैतिकताको पाठ’ सिकाउने कतिपय मिडियाकर्मीहरू आफैँ कति सफा छन् त? भन्ने उनको प्रश्नले अहिले मिडिया जगतमा पनि तरंग ल्याएको छ। कतिपय सञ्चारकर्मीहरूको विभिन्न ठाउँमा लुकेको ‘स्वीट शेयर’को रहस्य बिस्तारै खुल्ने चेतावनी दिँदै उनले भनेका छन्, “रामराज्यको चाहना राख्नेहरूले अरूलाई औँला उठाउनुअघि आफैँमा त्याग र नैतिक साहस देखाउन सक्नुपर्छ। सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।”

परिवर्तनको नारा लगाउनेहरूले आफ्नै भित्रको फोहर सफा गर्नुपर्ने बेला आएको भन्दै उनले दिएको यो राजीनामाले अबका दिनमा अन्य नेता र सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूलाई पनि सोच्न बाध्य बनाएको छ। के सुदन गुरुङले देखाएको यो नैतिक साहस अरूहरूले पनि देखाउन सक्लान्? गृहमन्त्रीको यो ‘एग्रेसिभ’ बहिर्गमनले नेपाली राजनीतिमा एउटा नयाँ मानक तय गरेको छ, जसले अबको राजनीति केवल शक्तिमा होइन, नैतिकतामा चल्नुपर्छ भन्ने सन्देश दिएको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.