३ बैशाख २०८३, बिहीबार

सालमनीदेवी हाईड्रोपावरले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, अध्यक्षमा उमा दाहाल चयन

157

काठमाडौँ, चैत ६ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । शुक्रबार काठमाडौँको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । आईपीओ मार्फत संकलन गरिएको पूँजीलाई कम्पनीले ऊर्जा क्षेत्रका थप नयाँ परियोजनाहरू विस्तार गर्न उपयोग गर्ने लक्ष्य राखेको छ ।

सालमनीदेवी हाईड्रोपावरले डोटीमा अवस्थित ‘कापडीगाड जलविद्युत् आयोजना’ मार्फत सन् २०७६ सालदेखि ३.३ मेगावाट विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्दै आएको छ ।

नयाँ सञ्चालक समिति चयन
साधारण सभाबाट कम्पनीको नयाँ सञ्चालक समिति समेत निर्विरोध निर्वाचित भएको छ । समितिको अध्यक्षमा उमा दाहाल चयन भएकी छन् । यस्तै, सदस्यहरूमा पेरश दाहाल, सुभाषचन्द्र भण्डारी र डा. भिमनाथ खरेल निर्वाचित भएका छन् भने स्वतन्त्र सञ्चालकका रूपमा ग्रेस रौनियार नियुक्त भएका छन् ।

सभाको समापन गर्दै नवनिर्वाचित अध्यक्ष उमा दाहालले कम्पनीको हालसम्मको प्रगतिमा शेयरधनी, कर्मचारी, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको ठूलो योगदान रहेको बताइन् । उनले आगामी दिनमा अझ ठूला र नयाँ परियोजनाहरू अघि बढाउँदै सालमनीदेवी हाईड्रोपावरलाई ऊर्जा क्षेत्रकै विश्वासिलो र अग्रणी कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.