३ आश्विन २०८३, शनिबार

‘अमेरिकी आर्मी हुँ’ भन्दै टिकटकबाट ठगी गर्ने स्याङ्जाका भेषराज वाग्ले पक्राउ

136

काठमाडौँ । अनलाइनमार्फत विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–२ घर भएका ३४ वर्षीय भेषराज वाग्ले रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले उनलाई मंगलबार चन्द्रागिरी नगरपालिका–७, थानकोटबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वाग्लेले सामाजिक सञ्जाल टिकटक (TikTok) मार्फत प्रयोगकर्ताहरूसँग सम्पर्क बढाउने र उनीहरूको ह्वाट्सएप (WhatsApp) नम्बर मागेर कुराकानी गर्ने गरेका थिए । कुराकानीका क्रममा आफू ‘अमेरिकी आर्मी’ मा कार्यरत रहेको भन्दै झुटो परिचय दिने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले आफू हाल बिदामा नेपाल आएको र जग्गाको कर तिर्नुपर्ने लगायतका विभिन्न बहाना र प्रलोभन देखाई पीडितहरूबाट मोटो रकम माग गरी ठगी गर्ने गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका वाग्लेलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूले दिने प्रलोभनमा नपर्न र आफ्नो व्यक्तिगत विवरण तथा रकम आदानप्रदान गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.