३ आश्विन २०८३, शनिबार

राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै: सेवा केही समय प्रभावित हुने, ६ महिनाभित्र राहदानी चाहिनेलाई तत्काल आवेदन दिन आग्रह

130

काठमाडौं । राहदानी विभागले राहदानी जारी गर्ने साविकको प्रणालीलाई विस्थापन गरी नयाँ आधुनिक प्रणाली लागू गर्ने तयारी गरेको छ। नयाँ आपूर्तिकर्तासँगको सम्झौतापछि विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी पूरा गरेको जानकारी दिएको छ।

विभागले हालै एक जरुरी सूचना जारी गर्दै आगामी एक–दुई महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन (Switch) हुने प्रक्रिया सुरु हुने जनाएको छ। यस अन्तरिम अवधिमा प्रणाली स्थिरीकरण (Stabilization) नहुँदासम्म राहदानी सेवा केही समयका लागि प्रभावित वा बन्द हुन सक्ने विभागले स्पष्ट पारेको छ।

कति समय बन्द हुन सक्छ सेवा?
प्रणाली परिवर्तनको समयमा निम्न बमोजिमका अवरोधहरू हुन सक्ने विभागले प्रक्षेपण गरेको छ:

१. जिल्ला र विदेशस्थित नियोग: जिल्ला/इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्नेछ।
२. राहदानी विभाग: विभाग आफैँबाट प्रदान गरिने सेवाहरू करिब १ हप्तासम्म बन्द हुन सक्नेछन्।
३. राहदानी जारी हुन लाग्ने समय: नयाँ प्रणाली लागू भएपछि पनि त्यसलाई पूर्ण रूपमा स्थिर हुन १ देखि ३ महिना लाग्न सक्नेछ। त्यसैले उक्त अवधिमा आवेदन दिँदा राहदानी तयार हुन साविकको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।

सेवाग्राहीलाई विशेष अनुरोध
राहदानी विभागले आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोजभित्र) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीहरूलाई यो संक्रमणकालीन अवस्था सुरु हुनुअगावै राहदानी बनाइसक्न आग्रह गरेको छ। विभागले सूचनामा भनेको छ, “अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला, इलाका प्रशासन वा नियोगबाट राहदानी सेवा लिनुहुन हार्दिक अनुरोध छ।”

नयाँ प्रणाली सुरु हुने निश्चित मिति र त्यस अवधिमा गरिने व्यवस्थाबारे विभागले अर्को सूचनामार्फत थप जानकारी गराउने समेत बताएको छ। विभागले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति ध्यान दिँदै समयमै आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.