शिक्षामन्त्रीद्वारा बाढी प्रभावित विद्यालयको स्थलगत अनुगमन
काठमाडौं, २३ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीबाट क्षतिग्रस्त नुवाकोटका विद्यालयहरूको स्थलगत अनुगमन गर्नुभएको छ । भदौ १० गतेको विनाशकारी बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न मन्त्री पोखरेलसहित सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना र जनप्रतिनिधिहरूको टोली आज नुवाकोट पुगेको हो ।
टोलीले त्रिभुवन त्रिशूली मावि, न्यूरेनी सुन्दरी मावि, चन्द्रज्योति मावि लगायतका शैक्षिक संस्थाहरूको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा क्षति पुगेको छ भने १६ जना शिक्षक र २१७ जना विद्यार्थी अझै सम्पर्कविहीन छन् । बाढीबाट करिब १० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सरकारले बाढी प्रभावित १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ भने मन्त्री पोखरेलले शैक्षिक गतिविधि पुनः सुचारु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।