२९ भाद्र २०८३, सोमबार

म्याग्दीमा नातिद्वारा आफ्नै ७२ वर्षीया हजुरआमाको बीभत्स हत्या, अभियुक्त पक्राउ

32

म्याग्दी: म्याग्दीको बेनी नगरपालिकामा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेका छन्। बेनी नगरपालिका-२ खबरा बस्ने २५ वर्षीय आशिष बरूवालले आफ्नै ७२ वर्षीया हजुरआमा मन कुमारी घिमिरेको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आशिषले सोमबार दिउँसो हजुरआमा मन कुमारीमाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए। दाउ प्रहारबाट गम्भीर घाइते भएकी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हजुरआमाको हत्या गरी फरार रहेका आशिषलाई प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिकाको वडा नं. २ स्थित हाडेभिरबाट नियन्त्रणमा लिएको हो। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट विशेष प्रहरी टोली खटिएको थियो।

नातिले आफ्नै हजुरआमाको हत्या गर्नुको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले पक्राउ परेका बरूवालमाथि ज्यान सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.