५० हजार घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ: नापी कार्यालय कलंकीमा कार्यरत तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध ५० हजार रुपैयाँ घुस मागेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको साविक मच्छेगाउँ ९ (ग) को जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा सर्भेक्षक श्रेष्ठ र अधिकृत पार्धेले नियमपूर्वक गरिदिनुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख र हैरानी दिएको तथा काम गरिदिने बदलामा ५० हजार रुपैयाँ घुसको बार्गेनिङ गरेको पुष्टि भएको छ। उनीहरूले आफू स्वयंले सो रकम नबुझी कानुनी कारबाहीबाट बच्ने वदनियत राखेर कार्यालय सहयोगीलाई रकम दिन मन्जुर गरेको अनुसन्धानबाट खुलेको छ। निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा अघि बढाइएको हो।
विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा प्रतिवादीहरू अमित कुमार श्रेष्ठ र हिरालाल पार्धेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना हुन मागदाबी गरिएको छ। सरकारले कर्मचारीहरूबाट हुने यस्ता अनियमितता र भ्रष्टाचारजन्य कार्यमाथि कडा निगरानी राख्दै कानुनी कारबाहीलाई तीव्रता दिएको छ।