२९ भाद्र २०८३, सोमबार

बाढीको वितण्डा: १,३५५ को मृत्यु, करिब ५ हजार बेपत्ता, उद्धार र राहत कार्य तीव्र

12

काठमाडौँ, २२ भदौ । रसुवा लगायतका विभिन्न जिल्लामा गएको विनाशकारी बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (२०८३ भदौ २२ गते बिहान ११:०० बजे) सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, यस प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेको सङ्ख्या १,३५५ पुगेको छ।

मानवीय क्षति र बेपत्ताको अवस्था
प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६३, नवलपरासी (पूर्व) मा २२२, नवलपरासी (पश्चिम) मा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ रहेका छन्। त्यस्तै धादिङ, गोरखा र तनहुँमा पनि शवहरू फेला परेको छ। हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ।

बाढी र पहिरोमा परी हालसम्म करिब ४,९९६ जना सम्पर्कविहीन रहेका छन्। जसमा रसुवाबाट करिब १,९६७, नुवाकोटबाट २,३४०, सुरक्षाकर्मी तथा कर्मचारी १०० जना र ५८९ विदेशी नागरिक रहेका छन्।

उद्धार र उपचार
विपद्मा परेका १३,३९६ जनाको सफल उद्धार गरिएको छ। घाइते भएका ६,६७२ जनाको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीबाट उपचार भइरहेको छ। घाइतेमध्ये २२८ जना उपचारपछि घर फर्किसकेका छन्। रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई राखिएको छ।

सुरक्षाकर्मी परिचालन र हवाई उडान
उद्धार कार्यका लागि सरकारले २१,४०२ सुरक्षाकर्मी परिचालन गरेको छ। जसमा ९,२८७ नेपाली सेना, ७,९१२ नेपाल प्रहरी र ४,२०३ सशस्त्र प्रहरी बलका जवानहरू रहेका छन्। उद्धार र राहतका लागि नेपाली सेनाले १,१५७ पटक र निजी क्षेत्र तथा सशस्त्र प्रहरीले गरी कुल १,४७९ भन्दा बढी हवाई उडान भरेका छन्।

राहत र पुनस्र्थापना
सरकारले प्रभावित जिल्लाहरूका लागि नगद राहतको घोषणा गरेको छ। रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। साथै प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

राहत सामग्री अन्तर्गत खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थीहरूका लागि स्टेसनरी सामग्रीहरू प्रभावित क्षेत्रमा पठाइएको छ। प्रभावितहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले १५० जना मनोसामाजिक परामर्शदाता समेत परिचालन गरेको छ।

पूर्वाधार र सञ्चारको अवस्था
विद्युत् आपूर्ति तर्फ धादिङमा करिब शतप्रतिशत (९९.८%), नुवाकोटमा ९६.७% र रसुवामा ७८% घरधुरीमा बिजुली सुचारु भइसकेको छ। सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ वटा टावरहरू सञ्चालनमा आइसकेका छन्। प्रभावित क्षेत्रमा इन्धनको मौज्दात पनि सुरक्षित राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सम्पर्कविहीन व्यक्तिहरूको विवरण आफ्नो फेसबुक पेज र वेबसाइटमा उपलब्ध गराएको छ र खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.