सरकारी विज्ञापन वितरण पारदर्शी बनाइनेछ : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ: सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी तथा लोककल्याणकारी विज्ञापन वितरणमा देखिएका अनियमितता रोक्दै यसलाई पारदर्शी र जनमुखी बनाइने बताउनुभएको छ । रेडियो सगरमाथाको ३०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले विज्ञापन वितरणमा हुने चलखेल अन्त्य गर्न सरकारले ‘हस्तक्षेपकारी’ कदम चाल्ने तयारी गरेको जानकारी दिनुभयो ।
लोककल्याणकारी विज्ञापनका लागि राज्यले वार्षिक करिब ३० करोड रुपैयाँ खर्च गर्दै आएको उल्लेख गर्दै उहाँले अब जनताको हितमा काम गर्ने वास्तविक सञ्चारमाध्यमले मात्र यस्तो सहयोग पाउने स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रमा देखिएको असन्तुलन र दुरुपयोगबारे पर्याप्त बहस नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यस विषयमा प्राज्ञिक र सरोकारवाला पक्षको अध्ययन आवश्यक रहेको बताउनुभयो ।
साथै, मन्त्री तिमिल्सिनाले सामुदायिक रेडियोहरूको महत्त्व अझै उच्च रहेको भन्दै प्रविधिसँगै आफूलाई परिमार्जन गरेर दिगो बन्न सुझाव दिनुभयो । गाउँगाउँमा सूचना प्रवाह गर्न सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई सुदृढ बनाउन सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो । उहाँले मर्यादित, निष्पक्ष र उत्तरदायी पत्रकारिताको अभ्यासमा जोड दिन समेत आग्रह गर्नुभयो ।