सुरक्षित व्यवस्थापनको खोजीमा बागमती किनारका बासिन्दा: ७२ जनाद्वारा स्वेच्छिक विवरण दर्ता
काठमाडौँ ।
बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्तीमा बसोबास गर्ने नागरिकहरू सुरक्षित र व्यवस्थित भविष्यका लागि सरकारको अभियानमा सहभागी हुन थालेका छन्। बल्खु र वंशीघाट क्षेत्रका न्यून आय भएका तथा घरजग्गा नभएका बासिन्दाहरूले दशरथ रंगशाला पुगेर स्वेच्छिक रूपमा आफ्नो विवरण टिपाउन सुरु गरेका हुन्।
हालसम्म ७२ जनाले आफ्नो विवरण दर्ता गराइसकेको र यो प्रक्रिया जारी रहेको जनाइएको छ। विवरण संकलनका लागि शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।
रंगशाला पुगेका नागरिकहरूलाई सरकारले सम्मानजनक व्यवहार गर्दै स्वास्थ्य जाँच र मनोपरामर्श समेत प्रदान गरिरहेको छ। उनीहरूमा रहेको त्रास कम गर्न र आत्मविश्वास जगाउन यो कदम चालिएको हो। विवरण संकलनपछि उनीहरूलाई खाजाको व्यवस्था गरी सुरक्षित ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ।
सरकारले उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेल, भक्तपुरको खरिपाटी, बोडे, नगरकोट र काभ्रेको बनेपास्थित विभिन्न तालिम केन्द्र तथा सरकारी भवनहरूमा व्यवस्थापन गर्नेछ। जोखिमपूर्ण जीवनबाट मुक्त गरी नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने सरकारको यस कदमलाई स्थानीयले साथ दिन थालेका छन्।