चैत १९ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले आगामी २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २:०० बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
सङ्घीय संसद् सचिवालयले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गरेको जानकारी दिएको छ ।
सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, संसद्का दुवै सदनको बैठक छुट्टाछुट्टै स्थानमा बस्नेछन् । प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने तय भएको छ ।
त्यसैगरी, राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्ष, सिंहदरबारमा बस्ने सूचनामा उल्लेख छ । महासचिव पाण्डेयले सो दिन र समयमा सङ्घीय संसद्का माननीय सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध समेत गर्नुभएको छ ।