रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, भोलि पुनः सुनुवाइ
२०८२ चैत्र ९ गते सोमबार, काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको गम्भीर मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ। सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि यसलाई भोलि (मंगलबार) का लागि राखिएको हो।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी कसुरहरू फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए।
सोमबार रिट निवेदकका तर्फबाट बहस सकिएको छ भने मंगलबार प्रतिवादीका तर्फबाट बहस हुनेछ।
लामिछानेमाथि कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाइएको थियो। तर, महान्यायाधिवक्ताले ती कसुर हटाउन निर्देशन दिएपछि जिल्ला सरकारी वकिल कार्यालयहरूले अदालतमा निवेदन दिएका थिए। सम्बन्धित जिल्ला अदालतहरूले भने सर्वोच्चको यो रिटको टुंगो लागेपछि मात्रै थप निर्णय गर्ने आदेश दिइसकेका छन्।
लामिछाने हालै सम्पन्न उपनिर्वाचनमा चितवन-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनी विभिन्न सहकारीको बिगोबापतको रकम बुझाएर हाल धरौटीमा रिहा भएका हुन्।