३ आश्विन २०८३, शनिबार

झापाबाट काठमाडौं फर्किए पूर्वराजा शाह, विमानस्थलमा समर्थकको भव्य स्वागत र कडा सुरक्षा

185

काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत बिहीबार काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने क्रममा उनलाई समर्थकहरूले भव्य स्वागत गरेका छन् ।

विमानस्थलमा भेला भएका समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउँदै शाहको स्वागत गरेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले विमानस्थलको आन्तरिक कक्षमै पुगेर पूर्वराजालाई स्वागत गरेका थिए । शाहले गाडीबाटै समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

समर्थकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ भने सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । विमानस्थलदेखि निर्मल निवाससम्मको रुट र काठमाडौंका विभिन्न चोकहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । समर्थकहरूले पूर्वराजालाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.