कक्षा १२ को नतिजा: झन्डै ३९ प्रतिशत विद्यार्थी ‘नन-ग्रेडिङ’मा
२०८२ साउन १९ गते सोमबार, काठमाडौं।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा सहभागीमध्ये झन्डै ३९ प्रतिशत विद्यार्थी ‘नन-ग्रेडिङ’ (एनजी) मा परेका छन् । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत मात्रै उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन् भने ३८.८३ प्रतिशतले ग्रेड प्राप्त गर्न सकेनन् ।
गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थीहरू सहभागी थिए । यस वर्षको परीक्षामा नियमित र आंशिक गरी कुल ५ लाख ११ हजार ५२५ जना परीक्षार्थी सामेल भएका थिए ।
तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना (एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा) र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जनाले परीक्षा दिएका थिए । ‘नन-ग्रेडिङ’मा परेका विद्यार्थीहरूले अब ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुनुपर्नेछ ।