२९ भाद्र २०८३, सोमबार

६५ मेगावाटको दूधखोला हाइड्रोलाई १० अर्ब बढी लगानी जुट्यो, ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

41

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको सहायक कम्पनीले मनाङमा निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको छ। आयोजना निर्माणका लागि दुई बैंकले कुल १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार ‘लिड बैंक’ को रूपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन्। कुल १२ अर्ब ८९ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको प्रति मेगावाट लागत २० करोड भन्दा कम रहेकाले यसलाई निकै आकर्षक मानिएको छ। बाँकी रकम प्रवर्द्धक कम्पनीले स्वपुँजी (Equity) बाट बेहोर्नेछ।

वित्तीय व्यवस्थापन टुङ्गिएसँगै कम्पनीले तत्काल निर्माण कार्य सुरु गर्ने र आगामी ३ वर्षभित्र विद्युत उत्पादन थाल्ने लक्ष्य राखेको छ। माउण्टेन इनर्जीले यसअघि नै ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत उत्पादन गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.