नाट्टा निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा : ‘टुरिजम सिस्टरहुड’का दुई महिला भिडन्तमा
२०८३ साउन २६ गते मंगलबार।
काठमाडौं । नेपालको पर्यटन क्षेत्रकै जेठो र प्रतिष्ठित संस्था नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी १४ अगस्ट (साउन २९ गते) हुने निर्वाचनका लागि तीनवटा शक्तिशाली प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको निर्वाचनमा एभरेष्ट मिराकल ट्राभल्सका भरतजंग पाण्डे, शशिज होलिडेजकी युबिका भण्डारी र स्वा टुर्सकी जिस्वन तुलाधर श्रेष्ठले आ-आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेपछि प्रतिस्पर्धा त्रिपक्षीय र रोचक हुने देखिएको छ। पाण्डेको समूहले ‘सशक्त नाट्टा’ को नारा अघि सारेको छ भने भण्डारी र श्रेष्ठ दुवैले पर्यटन क्षेत्रको व्यावसायिक सुधार र एकतालाई मुख्य एजेन्डा बनाएका छन्। यी तिन वटा प्यानल चुनाबी मैदानमा उत्रिँदा सबैको ध्यान विशेषगरी युबिका र जिस्वनको प्रतिस्पर्धामा केन्द्रित भएको छ।
यो प्रतिस्पर्धा केवल दुई उम्मेदवार वा दुई प्यानलबीचको मात्र रहेन, यसले पर्यटन क्षेत्रका महिलाहरूको साझा मञ्च ‘टुरिज्म सिस्टरहुड नेपाल एशोसिएसन’ (TSNA) को आदर्श र भावनामाथि नै ठूलो आँच पुर्याएको पर्यटन ब्यबसायीहरुको विश्लेषण रहेको छ ।

सन् २०१८ मा स्थापना भएको TSNA को मुख्य उद्देश्य नै पर्यटन क्षेत्रमा छरिएर रहेका महिलाहरूलाई एकजुट बनाउनु, एक–अर्काको क्षमता अभिवृद्धि गर्नु र सामूहिक नेतृत्व विकास गर्नु थियो। “दिदीबहिनीको भावना” (Sisterhood) बाट ओतप्रोत भई एक–अर्कालाई सघाउने बाचासहित स्थापना भएको संस्थाका कार्यकारी सदस्य युबिका भण्डारी र पुर्व अधक्ष्य जिस्वन तुलाधर श्रेष्ठ नै जब एउटै पदका लागि एक–अर्कालाई हराउने खेलमा लाग्छन्, तब संस्थाको त्यो ‘बाचा’ माथि प्रश्न उठ्नु स्वाभाविक हो।
पर्यटन वृत्तमा अहिले एउटै चर्चा छ- “महिला सशक्तीकरण र एकताको नारा दिनेहरू नै पदका लागि विभाजित हुँदा यसले भोलिको पुस्तालाई कस्तो सन्देश देला?”
TSNA ले पर्यटनमा महिला सहभागिता बढाउन र जिम्मेवार पर्यटन निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तर, नाट्टा जस्तो शक्तिशाली संस्थाको नेतृत्वका लागि आफ्नै ‘सिस्टर’ विरुद्ध चुनावी कित्ताकाट गर्दा यसले TSNA भित्रै गुटबन्दी र विभाजनको बीउ रोपेको आशंका पैदा गरेको छ।
जुन संस्थाले ‘एकता नै शक्ति हो’ भन्छ, त्यसैका नेतृत्वकर्ताहरू फरक–फरक प्यानलमा बाँडिएर एक–अर्काको मत काट्न लाग्नुले ‘सिस्टरहुड’ को साखलाई कमजोर बनाएको छ। यसले महिलाहरू एकजुट भएर एउटै साझा उम्मेदवार खडा गर्न नसकेको सन्देश मात्र दिएको छैन, बरु पद र शक्तिका अगाडि आपसी सद्भाव र संस्थागत उद्देश्य गौण हुने हो कि भन्ने संशय पैदा गरेको छ।

प्रतिस्पर्धा लोकतान्त्रिक सुन्दरता हो, तर जब यो प्रतिस्पर्धाले आफू आबद्ध संस्थाको दर्शनलाई नै चुनौती दिन्छ, तब त्यसले क्षति पुर्याउँछ। आज नाट्टाको चुनाव जित्नका लागि गरिने आरोप–प्रत्यारोप र चुनावी दाउपेचले भोलि TSNA को कार्यसमिति वा साधारण बैठकमा सँगै बस्ने वातावरण कस्तो बनाउला?
नेपालको पर्यटन क्षेत्रमा महिला नेतृत्व स्थापित हुनु आफैंमा सुखद पक्ष हो। तर, नेतृत्व प्राप्त गर्ने होडले आफ्नो जग र संस्कार नै बिर्सनु चिन्ताजनक छ। युबिका र जिस्वन दुवैको उम्मेदवारीले TSNA भित्रको एकतामा दरार आएको भान गराएको छ।
नाट्टाको निर्वाचनमा जोसुकै विजयी भए पनि, यो चुनावी लडाइँले ‘टुरिज्म सिस्टरहुड’ को मूल मर्म र भावनालाई भने घाइते बनाएको छ। एउटै घरका सदस्यहरू बीचको यो प्रतिस्पर्धाले अन्ततः पर्यटन क्षेत्रमा महिलाहरूको सामूहिक शक्तिलाई नै कमजोर पार्ने जोखिम बढेको छ।