२९ भाद्र २०८३, सोमबार

माउण्टेन इनर्जीको नाफामा २९ प्रतिशतको आकर्षक वृद्धि, ईपीएस २५.५२ रुपैयाँ कायम

30

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा २९.०८ प्रतिशतले बढेर ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री र आम्दानीको अवस्था
कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीमा पनि उल्लेख्य सुधार आएको छ। यस अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३० करोडको तुलनामा १७.३१ प्रतिशत बढी हो। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै कम्पनीले ९ लाख रुपैयाँ बीमा दाबी बापत प्राप्त गरेको छ।

ब्याज खर्चमा कटौती र सञ्चालन मुनाफा
कम्पनीको वित्तीय भार (ब्याज खर्च) मा पनि गिरावट आएको छ। अघिल्लो वर्ष २४ करोड ४३ लाख रुपैयाँ रहेको ब्याज खर्च यस वर्ष घटेर २० करोड १९ लाख रुपैयाँमा झरेको छ। विद्युत बिक्रीमा वृद्धि, बीमा दाबी प्राप्त हुनु र ब्याज खर्च घट्नुले कम्पनीको नाफा बढाउन मुख्य भूमिका खेलेका छन्। कम्पनीको सञ्चालन मुनाफा पनि ८९ करोड १८ लाखबाट बढेर १ अर्ब रुपैयाँ नाघेको छ।

प्रतिशेयर आम्दानी र नेटवर्थ
कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरी पुँजी वृद्धि गर्दा पनि प्रतिशेयर आम्दानी (EPS) मा सुधार देखिएको छ। अघिल्लो वर्ष २३.७२ रुपैयाँ रहेको ईपीएस अहिले बढेर २५.५२ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ छ भने जगेडा कोष (रिजर्भ) मा १ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।

लाभांश क्षमता र आगामी योजना
आर्थिक वर्ष २०८२/८३ को नाफाको आधारमा मात्र कम्पनीले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ। कम्पनीले हाल मनाङमा ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ, जसको वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भइसकेको छ।

यो ठूलो आयोजना निर्माणका लागि कम्पनीलाई थप नगद आवश्यक पर्ने भएकाले आगामी वर्षहरुमा पनि कम्पनीले नगद लाभांश भन्दा बोनस शेयरलाई नै प्राथमिकता दिने आँकलन गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ।

हाल माउण्टेन इनर्जीले ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनामार्फत नियमित विद्युत उत्पादन गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.