२९ भाद्र २०८३, सोमबार

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न: २० प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव पारित, प्रिमियम मूल्य पनि निर्धारण

191

विराटनगर । नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा निर्यातमा अग्रणी स्थान बनाउँदै आएको ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न विशेष साधारण सभाले कुल जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको पूर्वतयारी स्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ । साथै, विशेष साधारण सभाले संस्थापक शेयरको अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय समेत गरेको छ ।

सुदृढ वित्तीय अवस्था र लोभलाग्दो निर्यात
छोटो अवधिमै प्लाइउड उद्योगमा आफूलाई स्थापित गरेको ग्रिनप्लाई नेपालले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बिक्री वृद्धि गर्दै कम्पनीले वार्षिक कारोबार ४७.५ करोड रुपैयाँ पुर्‍याएको छ । विगत ५ वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीको व्यवस्थापकीय पक्ष र व्यवसायिक स्थायित्व अत्यन्त मजबुत देखिएको छ ।

कम्पनीले आफ्नो कुल उत्पादनको ३० प्रतिशत आन्तरिक बजारमा खपत गरिरहेको छ भने ७० प्रतिशतभन्दा बढी हिस्सा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ । बीआईएस (BIS) प्रमाणीकरण प्राप्त गरी भारतीय बजारमा गुणस्तरीय उत्पादन पठाएबापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदान (Export Subsidy) समेत प्राप्त गर्दै आएको छ ।

वित्तीय सूचकाङ्कमा सुधार
कम्पनीको पूँजीगत संरचनामा पनि उल्लेख्य सुधार आएको छ । ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ, जसले ऋणको भार कम भएको संकेत गर्छ । यस्तै, ६ करोड नयाँ शेयर पूँजी थपिएपछि र एनएफआरएस (NFRS) बमोजिम सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति (Net Tangible Assets) ८ करोड २० लाखबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

विस्तारमुखी रणनीति र आयात प्रतिस्थापनको लक्ष्य
अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादन गर्दै आएको कम्पनीले भविष्यमा उत्पादन क्षमता विस्तार गर्ने र नयाँ बजार खोज्ने रणनीति लिएको छ । नेपालमा हुने प्लाइउडको आयात प्रतिस्थापन गर्दै आन्तरिक माग पूरा गर्ने र निर्यात बढाएर मुलुकको व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ ।

अनुभवी नेतृत्व र लगानीकर्ता
प्रतिष्ठित उद्योगी जीवनप्रसाद रिजालको अध्यक्षतामा रहेको यस कम्पनीमा दिवाकर राठी, डगेन्द्र प्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाल जस्ता अनुभवी व्यवसायीहरूको मुख्य लगानी रहेको छ । साथै, संस्थागत लगानीकर्ताका रूपमा स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड र हार्वेस्ट भेन्चर्सको समेत सहभागिता रहेको छ ।

उत्पादनमूलक क्षेत्रमा लागेको, निर्यातमुखी व्यवसाय भएको र सुदृढ वित्तीय अवस्था रहेका कारण ग्रिनप्लाई नेपालको आगामी आईपीओलाई लगानीकर्ताहरूले उत्साहका साथ हेर्ने अपेक्षा गरिएको छ ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.