नाट्टा निर्वाचन: भरत पाण्डेको प्यानलबाट काभ्रेली युवा व्यवसायी दिनेश मैनालीको उम्मेदवारी
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमिति निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एण्ड टिम’ ले प्यानल घोषणा गरेको छ। आगामी अगस्ट १४, २०२६ मा हुने निर्वाचनका लागि “सशक्त नाट्टा समृद्ध पर्यटन: सदस्यसँगै, सदस्यका लागि” भन्ने मुख्य नाराका साथ घोषणा गरिएको यस प्यानलमा कार्यसमिति सदस्यका रूपमा युवा व्यवसायी दिनेश मैनालीको उम्मेदवारीले विशेष चर्चा पाएको छ। काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका-५ का स्थायी बासिन्दा मैनाली शुभम् ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुनुहुन्छ।
विगत एक दशकदेखि निरन्तर पर्यटन व्यवसायमा सक्रिय मैनाली यस क्षेत्रका समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने जुझारु व्यक्तिका रूपमा परिचित हुनुहुन्छ। पर्यटन क्षेत्रमा लामो अनुभव र युवा जोस बोक्नुभएका मैनालीले व्यवसायीहरूको हकहितका लागि संस्थागत सुधार र नवीन योजनाहरूलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ। अनुभवी र युवा व्यवसायीहरूको साझा प्यानल भएकाले उहाँको संलग्नताले टिमलाई थप बल पुगेको विश्लेषण गरिएको छ।

यस प्यानलमा एभरेष्ट मिरेकल ट्राभल्सका भरत जंग पाण्डेले अध्यक्षको नेतृत्व गर्नुभएको छ भने वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा र सह-कोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार रहनुभएको छ। यस्तै कार्यसमिति सदस्यहरूमा मैनालीसँगै दिनानाथ पाण्डे (प्रकाश), दीपक मरासिनी, नबिन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमन लाल श्रेष्ठ र स्वस्तिका प्रधान चुनावी मैदानमा उत्रिनुभएको छ।
