४ आश्विन २०८३, आईतवार

सेयर विवादमा सुदन गुरुङको स्पष्टीकरण: ‘२ करोडको सम्पत्ति देखाउनेले २५ लाख लुकाउँदैन, अनुसन्धानमा सहयोग गर्छु’

108

काठमाडौँ । पछिल्लो समय सेयर लगानी र स्रोतलाई लिएर विवादमा तानिएका सुदन गुरुङले आफूमाथि लागेका आरोपहरूको बुँदागत रूपमा खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत एक लामो स्पष्टीकरण सार्वजनिक गर्दै उहाँले आफूले कुनै पनि सम्पत्ति नलुकाएको र सबै कारोबार पारदर्शी रहेको दाबी गर्नुभएको हो।

‘सेयर लुकाएको होइन, वर्गीकरण मात्र गरिएको हो’
आफूमाथि २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने आरोपको खण्डन गर्दै गुरुङले भन्नुभएको छ, “मैले मन्त्रिपरिषद्को वेबसाइटमा २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमा स्पष्ट उल्लेख गरेको छु। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही समूहभित्र समेटिएको हो। २ करोडको सम्पत्ति सार्वजनिक गर्नेले २५ लाख लुकाउँछ भन्नु तर्कसंगत छैन, यो केवल वर्गीकरणको विषय हो।”

बैंकिङ प्रणाली र ऋणको स्रोत
मन्त्री हुनुअघि नै सेयर खरिद गरेको स्पष्ट पार्दै उहाँले सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको जानकारी दिनुभयो। लगानी गरिएको रकमको स्रोतबारे स्पष्ट पार्दै गुरुङले भन्नुभयो, “मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो। यसको लिखित तमसुक मिति २०८०/०५/२९ को छ, जुन रेकर्डमै सुरक्षित छ। पैसा कहाँबाट आयो भन्ने कुरा कागज र बैंक रेकर्डले नै प्रमाणित गर्छ।”

विवादित व्यक्तिसँगको साझेदारी र स्वार्थको द्वन्द्व
कुनै कम्पनीको सेयरधनी हुनुलाई नै विवादित व्यक्तिसँगको साझेदारी भन्न नमिल्ने उहाँको तर्क छ। “एउटै कम्पनीमा सयौँ सेयरहोल्डर हुन्छन्, जसमा मिडिया हाउसदेखि बैंकसम्मको लगानी छ। सेयर किन्नु भनेको सबैसँग व्यक्तिगत साझेदारी गर्नु होइन,” उहाँले स्पष्ट पार्नुभयो।

आफूमाथि लागेको ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) को आरोपबारे उहाँले भन्नुभयो, “यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग हो। विभागले प्रक्रियाअनुसार काम गरिरहेको छ। यदि मैले हस्तक्षेप गरेको भए छानबिन अघि बढ्ने नै थिएन।”

पार्टीको निर्णय मान्न तयार
अन्त्यमा, गुरुङले आफूमाथि लागेका आरोपहरू प्रमाणमा आधारित नभएको जिकिर गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले भन्नुभयो, “आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्नेछु।”

शहीदहरूको बलिदान र ‘जेन्जी’ (Gen-Z) आन्दोलनको मर्मलाई आत्मसात् गर्दै आफू जिम्मेवार बन्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.