राष्ट्रिय वाणिज्य बैंकको ६१औं वार्षिकोत्सव: रक्तदान र स्वास्थ्य शिविर सम्पन्न, ४१३ जनाले गरे रक्तदान
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ६१औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौँ तथा विभिन्न प्रदेशका प्रादेशिक कार्यालयहरूमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।
बैंकका अनुसार देशभर सञ्चालित रक्तदान कार्यक्रममा कुल ४१३ जना रक्तदाताले रक्तदान गरेका छन् । बैंकको केन्द्रीय कार्यालयका साथै सातै प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी, बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा कर्मचारीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा २५० जना कर्मचारीहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । सुमेरु अस्पताल, जावलाखेलका अनुभवी चिकित्सकहरूले कर्मचारीहरूको डायबिटिज्, युरिक एसिड, आँखा परीक्षण तथा मृगौला परीक्षण सेवा नि:शुल्क उपलब्ध गराएका थिए । शिविरमा युएसजी लगायतका अन्य स्वास्थ्य परीक्षण सेवाहरू भने सहुलियतपूर्ण शुल्कमा प्रदान गरिएको बैंकले जनाएको छ ।
वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आउँदो माघ १० गते आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१औं वर्षमा प्रवेश गर्दैछ । सोही ऐतिहासिक अवसरको पूर्वसन्ध्यामा बैंकले यी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको हो ।
हाल राष्ट्रिय वाणिज्य बैंकले ७ वटै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा समेत गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्स्टेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।