राहदानी विभागमा बिचौलियाको काम गर्ने ८ जना पक्राउ
काठमाडौं । राहदानी (पासपोर्ट) छिटो बनाइदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने ८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट बाहिर सेवाग्राहीलाई हैरानी दिने र कर्मचारीको काममा अवरोध पुर्याएको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सञ्जय आङ्देम्बे, ख्याम बहादुर श्रेष्ठ, प्रेम बहादुर लामा, टेक बहादुर सुनार, साजन श्रेष्ठ, गोकुल बहादुर श्रेष्ठ, जीवन लामा र एक १८ वर्षीय किशोर रहेका छन्। पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।