राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
राजनीतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कारबाही गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको छ। सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको बाहिरिएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा यस्ता गतिविधिमाथि निगरानी गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै शिक्षकहरूको राजनीतिक सहभागितामाथि गहन निगरानी गर्न र प्रचलित शिक्षा ऐन तथा नियमावलीविपरीत कार्य गर्नेमाथि कारबाही चलाउन अनुरोध गरेको छ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गरी राजनीतिक दलका कार्यक्रममा सहभागी देखिएका चार जना शिक्षक तथा कर्मचारीहरू (प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिना) माथि शिक्षा नियमावली, २०५९ अनुसार आवश्यक कारबाही गरी सोको जानकारी अविलम्ब गराउन निर्देशन दिएको छ।