भोटेकोशी बाढी अपडेट: १,४३६ जनाको शव फेला, ४,६५५ बेपत्ताको खोजी जारी
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहानसम्म १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ।
रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा गरी १ हजार ४ सय ३४ जनाको शव फेला परेको हो भने काठमाडौंमा उपचारका क्रममा २ जनाको निधन भएको छ। हालसम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन गरिसकिएको छ भने पहिचानका लागि ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यका लागि ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ६ सय ५५ जनाको खोजी कार्य जारी छ भने विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा १ हजार ३ सय ७२ जनालाई राखिएको छ।