वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने एक महिला पक्राउ
काठमाडौं: युकेमा आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएकी ३५ वर्षीया कुमारी तामाङ रहेकी छन्।
कुमारी तामाङले २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।