बुबाको हत्या आरोपमा गुल्मीमा छोरा पक्राउ
गुल्मी: आफ्नै बुबाको हत्या गरेको आरोपमा गुल्मीको मालिका गाउँपालिका-३ म्यालका २३ वर्षीय भोटबहादुर विकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। ५० वर्षीय धनबहादुर विकको हँसिया र काठ ठोक्ने मुंग्रो प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, भोटबहादुरको आक्रमणबाट बुबा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा उनकी आमा दिलमाया विक गम्भीर घाइते भएकी छिन् र उनको लुम्बिनी मेडिकल कलेज प्रभाष, पाल्पामा उपचार भइरहेको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको टोलीले भोटबहादुरलाई तत्काल पक्राउ गरेको थियो।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।